Sunday, November 8, 2009

नावै राम्रो

कति ठूलो सुन्दर महल तिम्रो त नावै राम्रो
घुम्ने मेच पनि रै'छ तिमी बस्ने ठावै राम्रो

घुसखोरी जे गरे'नि देश प्रेम छ भाषणमा
धेरै पाले पहरा छ तिमी बस्ने गावै राम्रो

विकासभित्रै पर्छ नि त्यो भ्रष्टाचार पनि
तस्करीलाई लुकाउने तिम्रो त दावै राम्रो

गाँस बासको मीठो आश दिएकै छौ विपत्तिमा
दुवै हात लड्डु मिल्ने तिम्रो त भावै राम्रो

जनताको सेवामा त त्यसै पेट लाग्दो रै’छ
धेरै ब्याज पकाउने तिम्रो त सावै राम्रो

Wednesday, October 14, 2009

Saturday, September 19, 2009

रातै छ

रातै छ मेरो घाम्
रातै छ मेरो धाम्

सुन है बाजे र च्याप्ज्यू
रातै छ मेरो नाम्

छातिमा रोप्छु लाल झन्दा
रातै छ मेरो काम्

रक्तिम शन्देश पठाउदैछु
रातै छ मेरो खाम्

बैरी को बार भात्काउनेछौ
रातै छ मेरो लाम

Friday, September 11, 2009

बगाएर लानु सबै

कोही बग्नु मेची बनी कोही महाकाली
बगाएर लानु सबै जति छन् ती जाली

बन्दैनन् कोही पनि अत्याचारको हली अब
सर्वहारा जनगीत यो गाऔं सुर हाली

छिर्दैछन् है मुसा फेरि धनसार भत्काउन
साँचोभित्र पार्नुपर्छ हेरौं दुलादाली

युगौंदेखि खोसिएको आमा तिम्रो अधिकार
बदलामा उठौं अब हीनतालाई फाली

मुस्काउनेछन् बास्ना छरी राता पुूलहरु
औजार लिई घुम्छ जब बगैंचामा माली

Sunday, September 6, 2009

अन्तिम पत्र

यही अन्तिम पत्र होला सायद उनको निम्ति
रुप फेर्दै चैन लुट्ने त्यही जूनको निम्ति

निर्वस्त्र नै घुमिरा'छन् अझ निर्लज्ज ऊ
अब भाउ लाइन्न बेकारको सुनको निम्ति

'खटटट…हुक्का' अनि पुयाँक्छन् कालो धुँवा
फेरि कान थापिन्न कोलाहल त्यो धुनको निम्ति

झुप्राहरु जल्दैछन् रे निर्धाहरु मर्दैछन् रे
झुमिदैनन् रङ्गमंचमा अब कोही खुनको निम्ति

उसलाई भनी उपमा तिखार्दैछु काँडा म'नि
सुताएर थाङ्नामा जलाएको गुनको निम्ति

Monday, August 24, 2009

आँखा खुल्दा

त्यो क्षितिज अनि लालीहरु
अगावै कैदी भइसकेको थियो
आँखा खुल्दा ।

छेकिसकेका थिए नीलगगन
ठिह छर्ने हुस्सुहरुले
पवनलाई सुसेल्ने
वृक्ष-हाँगाहरु छाडी ती चिडिया
बसाइँ सरिसकेका थिए
आँखा खुल्दा ।

प्रीतिहरुको घातले
घातहरुको लातले
रात पिएर
माती सकेको थियो जगत
आँखा खुल्दा ।

Saturday, June 13, 2009

आँसु खस्ने कथा

बिर्सियौ कि सपुत हो सुन्दै आँसु खस्ने कथा
बिर्सियौ कि आमा-दिदी छाती ठोक्दै रो'को व्यथा

छिर्दै छन् रे स्यालहरु फेरि गाउँगाउँमा
कर्तुतलाई लुकाएर महात्माको नाउँमा
बन्दुक फेरि पड्किदैछ सुन्छु खबर
पाइला-पाइला सधैं गर्नु तिमी पहरदार

अनायासै छिया कति ममताको छाती
मुनामै सेरिदा ती नाबालक घाँटी
गरिमा र उषा पनि तिमीलाई नै पर्खी रा'छ
क्षितिज पारि लालीमा'नि तिमीबिना तड्पी रा'छ

Wednesday, June 3, 2009

त्यो रात

त्यो रात भयभित रात
त्यो घडी त्रसित ससंकित
चारैदिवारभित्र बन्दी
कैयौं जिगिषाहरु
निलिए कैयौं खुसी
कैद भए सयौं बिहानी
रित्तिए पालुवा आशाका
सेपिए छेकिए वाफिए
मरे कति गुम्सिएर
मृत्युको के कुरा
सायद त्यही थियो नर्क
त्यो कालो बादलभित्र
अस्ताए कति ताराहरु
गन्तव्यहीन यात्रा
भिजे पसिनामै पलपल
आफसोच पाइलाहरु सडकछाप बने
मुठ्ठीहरुको पुकार भयो
निर्धन निमुखाको भाग्य
खेलिरहे नाचिरहे
त्यहीँ निर्लज्ज घुमिरहे
दासत्वको जाल काट्न
रात पिउँदै झुल्किए घामसँगै
बन्दीभित्रै विष्फोटिए
ज्वाला बनी आँसुहरु
सुनामी र वर्षासँगै
सेप काट्दै फाँड्दै जरा खन्दै
गर्नुछ सिमानाको पहर आजपनि
चम्काउन जुनकीरी असंख्य
काला रातहरुमा
चुम्नुछ गगन उमंगको वर्षाले
सजाउनु छ रुप नवयुगको
चलाउनु छ धूप नवजोशको
राष्ट्रियताको खोलभित्र
कुखुरा चोर्ने स्याल
भेटिन्छन् कि फेरि
गणतान्त्रिक भुकाइसँगै
सर्वनाशी पिसाचहरु
ब्यूँझिन्छन् कि फेरि
त्यही कालो रात लिएर ।

Wednesday, May 13, 2009

गन्तव्य नछोई

गन्तव्य जून नछोई अब
फर्कन्न त्यो राते
स्वीकार हर पराजयको
गर्दैन त्यो राते ।

खोसेर गाँस लुटेको मस्ती
त्यो भासभित्र डुबाई बस्ती
बस्ती र गाँस नफिरेसम्म
फर्कन्न त्यो राते
गरिबमाथि शोषण-दमन
मान्दैन त्यो राते ।

बन्याथ्यो कैले गाँस लहरा
पुग्याथ्यो कैले बास पहरा
मिर्मिरेसँगै लालीमा लिई
झुल्किन्छ त्यो राते
कसैको शिरमा कसैको पाउ
सहदैन त्यो राते ।

Friday, April 24, 2009

हुन्न पराइको गुलामी

स्वीकार छ मलाई मेरै लासको मलामी
तर हुन्न जीवन लुटाई पराइको गुलामी

फुलाउँदा मोती मैले अरु शिखर चुम्छ
पसिनाको मोल पनि यहाँ शून्य हुन्छ
बरु सही छाप जहाँ फासीको सलामी
तर हुन्न जीवन लुटाई पराइको गुलामी

जति भेट्छु मैले जस्तै आँसु टिपी पिउने
आफैलाई लुटाएर मध्यरातमा जिउने
गर्छन् यहाँ कति आफ्नो मुटुकै लिलामी
तर हुन्न जीवन लुटाई पराइको गुलामी

मेची-काली सिंगार्नु छ

मेची-काली सिंगार्नु छ बिन्ती वाधा नबनिदेऊ
फूल रोप्ने मालीहरु बिन्ती टाढा नबनिदेऊ

जसले जे गरे हुन्छ ? गरिबहरु मरे हुन्छ ?
कुरितीलाई काँध दिने बिन्ती साँढा नबनिदेऊ

जून-तारा छेकिदिने अलच्छिनी कालो बादल
वास छरी फुल्नु छ है बिन्ती काँडा नबनिदेऊ

नयाँ विउ उमारेर नौलो फूल फुलाऔं न
कलिला ती मुना भाँची बिन्ती छाडा नबनिदेऊ

बल्ल तल्ल न्यानो घामको पना मिलेको छ
मुटु काँप्ने ठिहीमाथि बिन्ती जाडा नबनिदेऊ

पुछिएको देखें

पुछिएको देखें नाना-बैनी तिम्रो सिउँदो
बाँचेकी छिन् आमा पनि बनी लास जिउँदो

घाम-पानी केही नभनी पसिना बगायौ
बिना मोल जिन्दगीको बाजी लगायौ
सधैं आँसु पिएर-२
बदलाको निम्ति उठ्नु साहस लिएर

दुःख छोपी छातीभित्रै अँधेरीमा बाँचेको छ
लुटाएर नासोहरु संन्त्रासमा बाँचेको छ
भित्री मुटु जलाइ-२
मुक्तिको लागि जुटौं आँधी चलाई

Wednesday, April 22, 2009

जून-घाम

न जून-घाम मेरो
न कुनै काम मेरो

गुल्टिदैछु ढुङ्गासिर
न कुनै दाम मेरो

छैन कुनै बाटो आफ्नै
न कुनै धाम मेरो

चेष्टाहरु झेलौं कति
न हरेराम मेरो

उपु फुस्स धुलो रै'छु
न कुनै काम मेरो

ननिको पेट

ननिको त पेटै तिम्रो जति खाए'नि भोको
अझ पुग्या छैन तिम्रो रजाइँ गर्ने धोको

बिचल्लीमा छौ कि कसो छट्पटा'को देख्छु
चलाउँदैन तर पानी पनि मैले छो'को

भिजाउँछ त भन्थ्यो ब्यारे महलको सोफा
हो पो क्यारे जस्तो लाग्यो देख्दा तिमी रो'को

सेरोफेरो ठानिरह्यौ बाह्रैकाल मेरो
मर्यादालाई छोपी बेच्यौ इज्जतको पोको

बूँद-बूँद मिलेपछि सागर बन्दो रै'छ
देख्यौ होला ज्वाला बनी बिस्फोटिए को-को