Wednesday, June 3, 2009

त्यो रात

त्यो रात भयभित रात
त्यो घडी त्रसित ससंकित
चारैदिवारभित्र बन्दी
कैयौं जिगिषाहरु
निलिए कैयौं खुसी
कैद भए सयौं बिहानी
रित्तिए पालुवा आशाका
सेपिए छेकिए वाफिए
मरे कति गुम्सिएर
मृत्युको के कुरा
सायद त्यही थियो नर्क
त्यो कालो बादलभित्र
अस्ताए कति ताराहरु
गन्तव्यहीन यात्रा
भिजे पसिनामै पलपल
आफसोच पाइलाहरु सडकछाप बने
मुठ्ठीहरुको पुकार भयो
निर्धन निमुखाको भाग्य
खेलिरहे नाचिरहे
त्यहीँ निर्लज्ज घुमिरहे
दासत्वको जाल काट्न
रात पिउँदै झुल्किए घामसँगै
बन्दीभित्रै विष्फोटिए
ज्वाला बनी आँसुहरु
सुनामी र वर्षासँगै
सेप काट्दै फाँड्दै जरा खन्दै
गर्नुछ सिमानाको पहर आजपनि
चम्काउन जुनकीरी असंख्य
काला रातहरुमा
चुम्नुछ गगन उमंगको वर्षाले
सजाउनु छ रुप नवयुगको
चलाउनु छ धूप नवजोशको
राष्ट्रियताको खोलभित्र
कुखुरा चोर्ने स्याल
भेटिन्छन् कि फेरि
गणतान्त्रिक भुकाइसँगै
सर्वनाशी पिसाचहरु
ब्यूँझिन्छन् कि फेरि
त्यही कालो रात लिएर ।

1 comment:

  1. विपलजीले राम्रा कविताहरु पनि लेख्नुहुन्छ, सबैलाई चेतना भया ।

    ReplyDelete