Friday, April 24, 2009

हुन्न पराइको गुलामी

स्वीकार छ मलाई मेरै लासको मलामी
तर हुन्न जीवन लुटाई पराइको गुलामी

फुलाउँदा मोती मैले अरु शिखर चुम्छ
पसिनाको मोल पनि यहाँ शून्य हुन्छ
बरु सही छाप जहाँ फासीको सलामी
तर हुन्न जीवन लुटाई पराइको गुलामी

जति भेट्छु मैले जस्तै आँसु टिपी पिउने
आफैलाई लुटाएर मध्यरातमा जिउने
गर्छन् यहाँ कति आफ्नो मुटुकै लिलामी
तर हुन्न जीवन लुटाई पराइको गुलामी

मेची-काली सिंगार्नु छ

मेची-काली सिंगार्नु छ बिन्ती वाधा नबनिदेऊ
फूल रोप्ने मालीहरु बिन्ती टाढा नबनिदेऊ

जसले जे गरे हुन्छ ? गरिबहरु मरे हुन्छ ?
कुरितीलाई काँध दिने बिन्ती साँढा नबनिदेऊ

जून-तारा छेकिदिने अलच्छिनी कालो बादल
वास छरी फुल्नु छ है बिन्ती काँडा नबनिदेऊ

नयाँ विउ उमारेर नौलो फूल फुलाऔं न
कलिला ती मुना भाँची बिन्ती छाडा नबनिदेऊ

बल्ल तल्ल न्यानो घामको पना मिलेको छ
मुटु काँप्ने ठिहीमाथि बिन्ती जाडा नबनिदेऊ

पुछिएको देखें

पुछिएको देखें नाना-बैनी तिम्रो सिउँदो
बाँचेकी छिन् आमा पनि बनी लास जिउँदो

घाम-पानी केही नभनी पसिना बगायौ
बिना मोल जिन्दगीको बाजी लगायौ
सधैं आँसु पिएर-२
बदलाको निम्ति उठ्नु साहस लिएर

दुःख छोपी छातीभित्रै अँधेरीमा बाँचेको छ
लुटाएर नासोहरु संन्त्रासमा बाँचेको छ
भित्री मुटु जलाइ-२
मुक्तिको लागि जुटौं आँधी चलाई

Wednesday, April 22, 2009

जून-घाम

न जून-घाम मेरो
न कुनै काम मेरो

गुल्टिदैछु ढुङ्गासिर
न कुनै दाम मेरो

छैन कुनै बाटो आफ्नै
न कुनै धाम मेरो

चेष्टाहरु झेलौं कति
न हरेराम मेरो

उपु फुस्स धुलो रै'छु
न कुनै काम मेरो

ननिको पेट

ननिको त पेटै तिम्रो जति खाए'नि भोको
अझ पुग्या छैन तिम्रो रजाइँ गर्ने धोको

बिचल्लीमा छौ कि कसो छट्पटा'को देख्छु
चलाउँदैन तर पानी पनि मैले छो'को

भिजाउँछ त भन्थ्यो ब्यारे महलको सोफा
हो पो क्यारे जस्तो लाग्यो देख्दा तिमी रो'को

सेरोफेरो ठानिरह्यौ बाह्रैकाल मेरो
मर्यादालाई छोपी बेच्यौ इज्जतको पोको

बूँद-बूँद मिलेपछि सागर बन्दो रै'छ
देख्यौ होला ज्वाला बनी बिस्फोटिए को-को